नेपालको असंगठित बिद्रोहः बेलैमा सचेत गराउँदा नचेतेका दलहरू

२०८२ भाद्र २९ आइतवार
सारांश
  • पछिल्लो अन्तर्वार्ताहरूमा उहाँले देशमा असंगठित बिद्रोह हुने र यसको परिणाम भयानक हुने संकेत गरेका थिए।

देश यतिबेला शोकमा छ। युवा पुस्ता जेन–जीको असंगठित विद्रोहका कारण भोग्नु परेको जनधनको क्षतिका कारण देश रोएको छ।  हालसम्म ५० भन्दा धेरैको मृत्यु भैसकेको पुष्टि भएको छ भने देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति निवास लगायत महत्वपुर्ण संरचनाहरू जलेका छन्। त्यस्तै व्यवसायिक क्षेत्रमा खर्बौ रुपैयाँको क्षति भएको छ।

 

व्यवसायी तथा राजनैतिक विश्लेषक अरुण कुमार सुवेदीले नेपालमा धेरै लामो समय देखि असंगठित बिद्रोह हुने संकेत गरिरहेका थिए।  उनले  सन् २०२२ मा श्रीलंकामा विद्रोह हुनु पुर्वनै नेपालमा असंगठित बिद्रोह हुन सक्ने आंकलन गरेका थिए । पछिल्लो अन्तर्वार्ताहरूमा उहाँले देशमा असंगठित बिद्रोह हुने र यसको परिणाम भयानक हुने संकेत गरेका थिए।

 

आर्थिक असफलता नै असंगठित विद्रोहको कारण हुनसक्ने तर्क गरेका उनले संविधानमा भएको ’समाजवाद उन्मुख’ शब्दले लगानी निरुत्साहन गर्ने हुँदा संविधान संशोधन मार्फत यो कुरा हटाईनुपर्ने तर्क उनको थियो। नेपालमा व्यवसायिक वातावरण नहुनुमा नीतिगत, कानुनि र व्यवहारिक सबै कुराले असहज भएको हुँदा ’विकास संकटकाल’ लगाएर भएपनि त्यस्ता नीति तथा कानुनहरू तत्काल खारेज गरी व्यवसायिक वातावरण बनाउनुपर्ने तर्क उनको थियो।  

 

धेरै टेलिभिजन अन्तर्वार्ता तथा सार्वजनिक कार्यक्रमहरूमा सुवेदीले विकाश संकटकालको बारेमा एक पटक होइन पटक पटक बोलेका थिए। उनि स्वयम् व्यवसायी भएकोले नेपालको मौजुदा कानुनहरू के कति व्यवसाय मैत्री छन् भन्ने बारेमा जानकार हुने भैहाले।  आफु स्वयम् हाईड्रोपाओर र केवलकार जस्ता ठुला लगानीका क्षेत्रमा सक्रिय उनले भोगेका हैरानिका फेहरिस्त बताईरहन्थे।

 

श्रीलंकामा बिद्रोह हुनुको कारण आर्थिक र राजनीतिक थियो।  श्रीलंका पछि गत वर्ष बङ्गलादेशमा बिद्रोह भयो। बंगलादेशमा बिद्रोह भएपछी अब नेपालको पालो भनेर संजालमा निकै भाईरल भईरह्यो। बंगलादेशमा भएको उक्त बिद्रोहले आजसम्म त्यहाँ विधिसम्मत ढंगले लोकतान्त्रिक सरकार गठन हुन सकेको छैन भने त्यहाँका अल्पसंख्यक हिन्दु, बौद्ध समुदाय बिरुद्ध अत्याचार भैरहेको छ। श्रीलंकामा बिद्रोह पछि सहज अवतरण भैसकेको छ भने बंगलादेश निकट भविष्यमा सहज बाटोमा अगि बढनेमा शंका छ।  

 

अरुण सुवेदी जस्ता विश्लेषकहरूले राजनैतिक नेत्रित्वलाई आफु सच्चिनका साथै नीति र बिधि परिमार्जन गर्न आग्रह गरिरहे तर ति सुझावहरू सुनिएनन। बरु सत्ताधारी दलहरूले एक पछि अर्को गर्दै जनतामा आक्रोश थप्ने काम गरिरहे ।  व्यवसायिक वातावरण बनाउनुको साटो व्यवसायीहरूलाई झन् शसंकित हुने कदमहरू चालिरहे।  

 

कुनै पनि देशका नागरिकको राज्य प्रति समान अपेक्षाहरू हुन्छन जस्तै प्रजातान्त्रिक अधिकार, रोजगारी, सुरक्षा लगायत। तर नेपालमा बढदो बेरोजगारीको कारण राज्य प्रति आम नागरिकको विश्वास र समर्थन गुम्दै गईरहेको थियो। देशको बेरोजगारी समस्या समाधान गर्ने तर्फ राज्यको ध्यान गएन। नयाँ अवशरहरू सिर्जना गर्ने खालका नीति र बिधिहरू निर्माण भएनन। निजि क्षेत्रलाई प्रोत्साहन गर्ने गरेर खास काम भएनन।  देशमा रोजगारी सिर्जना र कुल ग्राहस्थ उत्पादनमा ८०% भन्दा बढि हिस्सा लिएको निजि क्षेत्र सधैं राज्यद्वारा प्रताडित भैरहने स्थिति भयो। कुनै उधोग व्यवसाय संचालन गर्न वा योजना निर्माण गर्न राज्यले सहजता प्रदान गर्न सकेन। जसका कारण देशमा आर्थिक गतिबिधि जुन गतिमा हुनुपर्ने थियो सो हुन सकेन। अथवा भनौं यी कुराहरु सम्बोधन गर्ने गरेर कुनै सत्ताधारी दलले नेतृत्व गरेनन।

 

जव देशमा निजि क्षेत्रहरूले ढुक्कसँग लगानी गर्न सक्छन, लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई प्रोत्साहन हुने वातावरण बनाईन्छ, तव न देशमा रोजगारी सिर्जना हुन्छ, राज्यले कर प्राप्त गर्छ।  तर यति सामान्य आर्थिक नियम बुझ्ने नेतृत्व भैदिएनन।  सुवेदी स्वयम् ठुला व्यवसायी हुन्, उनको प्रोजेक्ट ईआईएको नाममा १० वर्षदेखि झुलाईएका एक पिडित व्यवसायी हुन्। देशमा सुवेदी जस्ता सयौं लगानिकर्ता छन् जसले राज्यबाट प्रोत्साहन होइन, प्रताडना भोगिरहेका छन्।

 

पुराना स्थापित दलहरूको अकर्मण्यताका कारण गत निर्वाचनमा स्वतन्त्र उमेद्वारहरू आए। बालेन साह, हर्क सम्पाङ्ग, र गोपी हमाल जस्ता स्वतन्त्र नेतृत्वहरू उदाए। संसदमा राम्रै संख्या सहित राष्ट्रिय स्वतन्त्र पार्टि, नागरिक उन्मुक्ति पार्टी र जनमत जस्ता नयाँ दलहरू आए।  यसरी नयाँ दल र नेतृत्वहरू उदाउनु पुराना स्थापित दलहरू बिरुद्ध जनताको शालीन बिद्रोह थियो। तर पुराना दलहरूले त्यो शालीन र भद्र बिद्रोह बुझ्ने चेष्टा गरेनन। ति नयाँ दल र नेतृत्वहरू कति योग्य, अयोग्य त्यो अर्कै पाटो हो तर उनीहरू प्रति जनता आकर्षित हुनु, पुराना स्थापित दलहरू प्रतिको विकर्षणको पराकाष्टा हो।

 

आर्थिक नीति र परराष्ट्र नीतिले कुनै पनि राज्य बाच्ने आधार तयार गर्छ।  सुवेदी भन्छन, पछिल्लो समय नेपालले गरेको एक पछि अर्को कुटनैतिक भुलहरू पनि अहिलेको असंगठित विद्रोहको महत्वपुर्ण कारण हो। नेपाल प्रजातान्त्रिक कित्ताका नेतृत्वकर्ता देशहरू बिरुद्ध विषवमन गरेर बाच्न सक्दैन। नेपालले प्रजातान्त्रिक कित्ताका मुलुकहरूसँग गुमाएको विश्वास र गैरप्रजातान्त्रिक राष्ट्रहरूसँगको विशेष रुचिका कारण नेपाल ठुलो भूराजनैतिक दुर्घटनाम पुग्न सक्ने तर्क सुवेदीले गरिरहेका थिए। विश्वमा धेरै राष्ट्रहरूको राजनैतिक नक्सा परिवर्तनको प्रसव पिडाबाट गुज्रिरहेको छ।  नेपाल जस्तो दुई भिन्न राजनैतिक प्रणाली सहितका विशाल छिमेकीहरुका बिचमा अवस्थित छ।  हाम्रो सानो कुटनैतिक भुलले देशको अस्तित्व माथि प्रश्न चिन्ह खडा हुन सक्छ। तर राजनैतिक नेतृत्वले भूराजनीति र कुटनीतिलाई घरेलु राजनीतिको खपतको विषय बनाईयो। सस्तो लोकप्रियताका लागि छिमेक सम्बन्ध प्रयोग गर्ने कामहरू भए। राज्य संयन्त्र र राजनैतिक दलहरूको यस्ता हर्कतहरू बिरुद्ध सुवेदीले सल्लाह, सुझाव र चेतावनीहरू दिईरहेका हुन्थे।  

 

ईजरायल नेपालको अत्यन्त महत्वपुर्ण मित्रराष्ट्रका साथै बलियो अन्तराष्ट्रिय ’सफ्ट पाओर’ पनि हो। विपी कोईराला प्रधानमन्त्री हुँदा भारत र चीन भन्दा पनि पहिले उसलाई राष्ट्रको मान्यता दिएर आर्जन गरेको विश्वास पछिल्लो समय नेपाली कांग्रेसकै परराष्ट्र मंत्री हुँदा ईजरायल बिरुद्ध उभिएर त्यो विश्वास गुमायो । जवकि नेपालले अमेरिकासँग बार्गेनिङ्ग गर्नु पर्दा पनि ईजरायल मार्फत गर्न सकिन्थ्यो, ईजरायलले नेपाललाई सहयोग गर्न सक्थ्यो। विपी कोईरालाले ईजरायललाई लगाएको गुणबाट उनीहरू साच्चै ऋणी थिए।  बिपिन जोशी जो हमासको नियन्त्रणमा छन्, बेन्ज्यामिन नेतान्याहुँलाई बिपिन जोसीको रिहाईको लागि कुरा उठाउँदा उनले मुखै फोरेर भन्दिए, “तिमीहरूको सम्बन्ध हमाससँग हाम्रो भन्दा राम्रो छ, उसैसँग कुरा गर्नु नि !“  यसबाट ईजरायल नेपालसँग कुन हदसम्म क्रुद्ध भैसकेको रहेछ भन्ने कुरा प्रष्ट हुन्छ।

 

भारत र अमेरिका प्रजातान्त्रिक समुदायका नेतृत्वकर्ता देशहरू हुन्। नेपाल पनि प्रजातान्त्रिक अभ्यासलाई नै सर्वोपरी ठान्ने देश हो।  तर विगत ७० वर्षको नेपालको कम्युनिष्ट राजनीतिले तिनै प्रजातान्त्रिक राष्ट्रहरू बिरुद्ध बिष वमन गर्न सिकायो।  भारत र अमेरिकालाई गालि गर्नु नै राष्ट्रवादी हुनु हो भन्ने भाष्य नेपाली समाजमा स्थापित गरियो।  नेपालको आर्थिक समृद्धि भारतसँगको असल सम्बन्धमा अडिएको छ, तर नेपालको राजनैतिक वृत्तले यो सत्यतालाई स्वीकार गरेर सो अनुरुप कार्य गर्नमा केन्द्रित भएन।

 

नेपालको विकासमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश जापान हो। अन्य देश वा दातृ निकायको सहयोगमा केहि न केहि स्वार्थ लुकेकै हुन्छ, तर जापान मात्र नेपालको लागि त्यस्तो मित्रराष्ट्र हो जसले विगत लामो समयदेखि निस्वार्थ सहयोग गरिरहेको छ। तर हालै प्रधानमन्त्री ओलीले चीनमा जापान बिरुद्धको भिक्ट्री परेडमा उपस्थित भएर नेपालले जापान बिरुद्ध उभियो। संसारका गैर प्रजातान्त्रिक (कम्युनिष्ट) देश र केहि ईस्लामिक कट्टरपन्थी देशहरु जस्तै ईरान, अफगानिस्तान, रसिया, उत्तर कोरिया, क्युबा जस्ता देशहरूसँग उक्त भिक्ट्री परेडमा उभिएर आफ्नो प्रजातान्त्रिक प्रतिबद्धता गुमायो। यसले हाम्रो प्रजातान्त्रिक कित्ताका देशहरूमा नेपालको छवि कमजोर बनायो।  

 

त्यति मात्रै होइन, नेपालले एक चीन नीतिबाट एक चीन सिधान्तमा आफुलाई प्रतिबद्ध गरायो। हालै प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा ’’ग्लोबल सेक्युरेटी ईनिसियटिभ – जीएसआई“ को पक्ष राष्ट्रका रुपमा उभ्यायो। नेपाल कुनै सुरक्षा छाता भित्र सामेल भएको थिएन, र नेपालले हाल अवलम्वन गरेको कुटनैतिक अभ्यास भन्दा अप्राकृतिक कदम थियो यो।

 

कांग्रेस निकट सुवेदी जो स्वयम् प्रधानमन्त्री शेर बहादुर देउबाको विदेश सल्लाहकार समेत भैसकेका छन। उनले ऋषि धमलासँगको एक अन्तर्वार्तामा “अब नेपाली कांग्रेसलाई कुकुरले समेत पछाडि फर्केर हेर्दैन। भनेका थिए।“  कांग्रेसले प्रजातन्त्रको लागि गरेको संघर्ष र यसबाट आर्जन गरेको आन्तरिक र बाह्य विश्वास र प्रतिष्ठा आफ्नै गलत कदमहरूका कारणले तहसनहस भयो। वाक स्वतन्त्रता र प्रजातन्त्रको लागि आफ्नो जीवन नै समर्पित गरेका  शेर बहादुर देउबा जी को त्यो हालत भयो।

  

नेपालमा असंगठित बिद्रोह हुनु नै थियो, भयो। अत्यन्त पीडादायी भयो। जो जसले कुटनैतिक भुलहरू गरे वा त्यस्तो कार्यमा सरिक भए उनीहरूलाई शक्ति राष्ट्रले सबक सिकाएको रुपमा यो घटनालाई बुझ्न सकिन्छ। उहाँहरूबाट न आर्थिक विषयहरू सम्बोधन भयो न असल कुटनैतिक अभ्यास नै। अहिलेको जेन जी बिद्रोहमा आन्तरिक रुपमा आर्थिक कारण हो भने बाह्य कारण कुटनैतिक बबण्डरहरूको परिणाम हो।  सुशिला कार्कीको नेतृत्वमा सरकार बनेसँगै सबैभन्दा पहिलो बधाई मित्रराष्ट्र जापानको आउनुले पनि यसलाई थप पुष्टि गर्छ।  

 

(विगत लामो समय देखि असंगठित विद्रोहको सम्भावना बारे संकेत गरिरहनु भएका लेखक, विश्लेषक तथा व्यवसायी अरुण कुमार सुवेदीले व्यक्त गर्नुभएका विचारहरूको आधारमा सम्पादित सामग्री।)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप लेखहरु